नवलपरासी । प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न पार्टीको बन्दसूचि अनुसार निर्वाचितहरुको नामावली निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(९) तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३८(१) बमोजिम निर्वाचित उम्मेदवारहरुको नामावली प्रकाशन गरेको हो ।
१ सय १० जना साँसद समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका हुन् । जसमा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ जना, नेपाली काँग्रेसबाट २० जना, नेपाल कम्यूनिष्ट पार्टी (एमाले)बाट १६ जना, नेपाली कम्यूनिष्ट पार्टी(नेकपा) बाट ९ जना, श्रम संस्कृति पार्टीबाट ४ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४ जना निर्वाचन भएका छन् ।
दलहरूले आदिवासी जनजाति, खस आर्य, पिछडिएको क्षेत्र, अपाङ्गता, मुस्लिम, मधेशी, र दलित समूदायबाट प्रतिनिधि छनौट गरेका हुन् । एक सय १० जना समानुपातिक साँसद मध्ये ८२ जना महिला छन् भने २८ जना मात्र पुरुषहरू रहेको पाइएको छ ।
रास्वपाले समानुपातिकमा पठाएका ५७ जना प्रतिनिधि मध्ये ४८ जना महिला र ९ जना पुरुष छन् । नेपाली काँग्रेसका २० जना प्रतिनिधि मध्ये १५ जना महिला र ५ जना पुरुष छन् । यस्तै नेकपा एमालेका १६ जना प्रतिनिधि मध्ये १० जना महिला र ६ जना पुरुष छन् । यस्तै नेकपाका ९ जना प्रतिनिधि मध्ये ४ जना महिला र ५ जना पुरुष रहेका छन् । यसैगरी श्रम संस्कृति पार्टीका ४ जना प्रतिनिधि मध्ये ३ जना महिला र १ जना पुरुष छन् भन राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ जना प्रतिनिधि मध्ये २ जना महिला र २ जना पुरुष रहेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व गर्ने सबैभन्दा वढी ३५ देखि ४५ बर्ष उमेर समूहका ३४ जना साँसद छन् । त्यसैगरी ४५ देखि ५५ बर्ष उमेर समूहका २८ जना छन् भने ५५ देखि ७५ बर्ष उमेरका २५ जना साँसद छन । यस पटकको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अनुसार दलहरुले २५ देखि ३५ बर्ष उमेर समूहका युवाहरूलाई पनि मौका दिइएको पाइएको छ । साँसदमा समानुपातिक तर्फ २५ देखि ३५ बर्ष उमेर समूहका २३ जना युवाहरूले प्रतिनिधित्व गर्न लागेको निर्वाचन आयोगका अधिकृत कृष्णवहादुर राउतले जानकारी दिनुभयो ।