परासी । चालु आ.ब.२०८२।०८३ को माघ मसान्त अर्थात ७ महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय, नवलपरासीले ४ करोड ३१ लाख ८४ हजार ४०८ रुपैया राजश्व संकलन गरेको छ । प्रत्येक तीन/तीन महिनामा सूचना मार्फत प्रशासनले सम्पादित कामको जानकारी दिने गरेको हो । कार्यालयमा हुने राजश्व बापत, राहदानी वापत, धरौटी, संस्थादर्ता तथा नविकरण, सिफारिस र हातहतियार नामसारी र नविकरण बापत उठ्ने गरेको छ ।
प्रशासन कार्यालयबाट १८ वटा शीर्षकमा दैनिक कामकाज हुने गरेको छ । नागरिकताको प्रमाणपत्र वितरण, राहदानी प्राप्त र वितरण, संघसंस्था दर्ता तथा नविकरण, हातहतियार नविकरण र नामसारी, मुद्धा दर्ता तथा फछ्यौट, ठाडो उजुरी, राष्ट्रिय परिचय पत्र तथा नावालक परिचय पत्र वितरण, विपत व्यवस्थापन तथा राहत वितरण लगायतका काम दैनिक हुने गरेको सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले जानकारी दिनुभयो ।
गएको ७ महिनामा जिल्लाबाट नागरिकता लिनेको संख्या ३ हजार ४३४ छ भने नागरिकताको प्रतिलिपि लिनेको संख्या ३ हजार २०१ रहेको छ । यस्तै राहदानी लिनेको संख्या ७ हजार ७११ छ । संस्था दर्ता ऐन २०३४ बमोजिम १३ वटा नयाँ संघसंस्था दर्ता भएका छन् भने यो अवधिमा २ सय ४ सस्थाहरू नविकरण गरिएको छ ।
यसैगरी सोही अवधिमा प्रशासन कार्यालय नवलपरासीले एक सय वटा हातहतियार नविकरण गरेको छ । भने राष्ट्रिय परिचय पत्र २० हजार ६१८ जनाको दर्ता गरिएको छ भने ३ हजार ९६२ जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको हो ।
यस्तै सोही अवधिमा जातियता लगायतका १ हजार ४४९ वटा सिफारिस गरिएको छ भने सोही अवधिमा जिल्लामा विपद प्रभावितलाई १० हजार रुपैया जिल्ला दैवि प्रकोप उद्दार कोषबाट हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले नेपालीचेली अनलाईनलाई जानकारी दिनुभयो ।