परासी । नवलपरासीको रामग्राम नगरपालिकाले स्थापनाको २९ बर्षमा पहिलो पटक आज स्थापना दिवस मनाएको छ । २०५३ साल चैत्र १४ गते आजकै दिन रामग्राम नगरपालिकाको स्थापना भएको थियो । आज नगरपालिका परिसरमा एक भव्य समारोहको आयोजना गरी स्थापना दिवस विशेष कार्यक्रम मनाइएको हो । आज रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको अध्यक्षता र लुम्बिनी प्रदेशका उद्योग, वन तथा वातावरणमन्त्री देवकरण कलवारको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रमको आयोजना गरी मनाइएको हो । (भिडियो सामाग्री)
स्थापना दिवसको अवसरमा नगरभित्रका विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृतिका झाँकी प्रदर्शनी गरिएको छ । स्थापना दिवसकै अवसरमा उत्कृष्ट कर्मचारी, स्वास्थ्य स्वयंसेवीका, विद्यालयका प्रधानाध्यापक, दृष्टिविहिन शिक्षक, उत्कृट करदाता, आमसञ्चार माध्यम, खेलाडि, सहिद परिवार र नगरपालिका भित्रका सरसफाई कर्मीहरूलाई नगदसहित सम्मान पत्रद्वारा सम्मान गरिएको हो । सो अवसरमा २५ जनालाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा प्रतिनिधि सभाकी साँसद रिंगला यादव, पूर्वमन्त्री ध्रुववहादुर प्रधान, पूर्व राज्यमन्त्रीद्वय रामबचन यादव र गोविन्द चौधरी, लुम्बिनी प्रदेशका पूर्वमन्त्री बैजनाथ चौधरी, साँसद बैजनाथ कलवार, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, नेपाली काँग्रेसका कार्यवाहक जिल्ला सभापति विक्रम यादव, जसपा नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादव, नगरउपप्रमुख संझना चौधरी लगायतले नगर स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको कार्यक्रम संचालिका सुजाता लामाले नेपालीचेली अनलाईनलाई जानकारी दिनुभयो ।