मीना केसी, सुनवल । नवलपरासी सुनवल–९ स्वाठीस्थित प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २० औँ स्थापना दिवस तथा वार्षिकोत्सव रक्तदान कार्यक्रम गरी मनाएको छ । सहकारी संस्थाकी अध्यक्ष तुलसी कुँवरको अध्यक्षता तथा सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।
रक्तदान कार्यक्रममा १७ जना रक्तदाताले रक्तदान गरेका छन् । रक्तदानको प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र परासीले गरेको हो ।
कार्यक्रममा नगरप्रमुख अर्यालले रक्तदान जीवन दान भएको भन्दै सहकारीले गरेको रचनात्मक कामको प्रसंशा गर्नुभयो । उहाँले सहकारी बचत तथा ऋणमा मात्र सीमित नरही सीपमूलक तालिम, सुत्केरी सहयोग लगायत सामाजिक कार्यहरू गर्दै आएकोमा प्रशंसा गर्दै आगामी दिनमा अझ सृजनात्मक कार्यक्रम सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नवलपरासीका उपसभापति कृष्ण लामिछानेले १८ देखि ६० वर्ष उमेर समूह र कम्तीमा ४५ किलो तौल भएका व्यक्तिहरूले मात्र रक्तदान गर्न मिल्ने बताउनु भयो ।
२०६३ सालमा स्थापना भएको सहकारीमा हाल एक हजार २०० भन्दा बढी शेयर सदस्य र करिब १३ करोड रुपैयाँको आर्थिक कारोबार गरिरहेको संस्थाले जेष्ठ नागरिक सम्मान, तिर्थ भ्रमण, सुत्केरी राहत तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको अध्यक्ष कुँवरले नेपालीचेली अनलाईनलाई बताउनु भयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष मुुक्तिराम पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रम सञ्चालक बिन्दु पौडेल जानकारी दिनुभयो ।