परासी । नवलपरासीको सरावल गाउँपालिकाले आगलागीका घटना न्यूनीकरण गर्न सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
सरावल गाउँपालिकाको कार्यालयले आज जारी गरेको सूचनामा मौसम परिवर्तनसँगै तराई क्षेत्रमा हावाहुरी चल्ने तथा गहुँबाली भित्र्याउने समय भएकाले खेतबारीमा बाँकी रहेका नल (ठुटो) मा आगो लगाउने प्रवृत्तिले आगलागीका घटना बढ्न सक्ने उल्लेख गरिएको छ ।
यसबाट बाली, मानव बस्ती तथा वातावरणमा समेत नकारात्मक असर पर्ने भएकाले नल नजलाइ पशुचौपायाको आहारका रूपमा प्रयोग गर्न गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीले अनुरोध गर्नु भएको छ ।
गाउँपालिकाले विशेषगरी गर्मीयाम र हावाहुरीको समयमा आगलागीबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई विभिन्न कार्यमा सावधानी अपनाउन आग्रह गरेको छ । जसअन्तर्गत विद्युतिय उपकरणको प्रयोग गर्दा, चुरोट तथा धूमपान गर्दा, खाना पकाइसकेपछि आगोको उचित व्यवस्थापन गर्न र खुला चौर, खेत तथा वनजंगलमा आगो जन्य वस्तुको प्रयोग नगर्न अध्यक्ष चौधरीले सुझाव दिनु भयो ।
यसैगरी, कुनै पनि आगलागीको घटना भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपतकालीन नम्बर १०० मा सम्पर्क गर्न तथा सरावल गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा, सम्बन्धित वडा अध्यक्ष, जनप्रतिनिधि वा स्वास्थ्य संस्थामा जानकारी गराउन आग्रह गरिएको छ । साथै, एम्बुलेन्स तथा दमकल सेवामा पनि तत्काल सम्पर्क गर्न गाउँपालिले भनेको छ ।
