नवलपरासी । सरकारले विश्व बैंकबाट प्राप्त हुने साढे ८ करोड अमेरिकी डलर अर्थात १२ अर्ब ३५ करोड बराबरको ऋण स्वीकृत गरेसँगै ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ कार्यान्वयनमा आउने निश्चित भएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बुद्ध जन्मस्थल लुम्बिनी केन्द्रित परियोजना पश्चिम नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लामा सञ्चालन हुनेछ । नवलपरासीको रामग्राम नगरपालिका, रुपन्देहीको लुम्बिनी साँस्कृतिक र देवदह नगरपालिका, कपिलबस्तुको कपिलबस्तु नगरपालिकामा परियोजना सञ्चालन गरिने छ ।
परियोजना शहरी विकास मन्त्रालयको नेतृत्वमा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्थानीय तह र विश्व बैंकको सहकार्यमा अघि बढाइने भएको छ । परियोजनाले रामग्राम स्तुप, मायादेवी मन्दिर, तिलौराकोट र देवदह जस्ता बौद्ध सम्पदा क्षेत्रको संरक्षणसँगै पर्यटन पूर्वाधार विकास गर्ने लक्ष्य राखेको छ ।
तीन जिल्लाका चार नगरपालिकालाई समेटेर ग्रेटर लुम्बिनी एरिया डेभलपमेन्ट (ग्ल्याड) परियोजनाका रुपमा विकास गर्ने लक्ष्य तत्कालिन के.पी. ओली सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले ‘ड्रिम प्रोजेक्ट’का रुपमा अगाडि सार्नुभएको थियो । विश्व बैंकले गत फाल्गुन २९ गते अर्थात मार्च १३ तारिखमा ऋण दिने निर्णय गरेको हो ।
यसबाट लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्दै रोजगारी सिर्जना, स्थानीय आर्थिक गतिविधि विस्तार र दिगो शहरी विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । परियोजनाले लैंगिक समानता, जलवायु लचिलोपन, समुदायको सहभागिता र महिला तथा युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेको बताइएको छ ।
परियोजना छनोट र कार्यान्वयन स्थानीय तहबाटै गर्ने तीन जिल्लाका चार पालिकाले दावि गरेका छन् । परियोजनाले पर्यटन पूर्वाधारलाई प्राथमिकता दिएको रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले जानकारी दिनुभयो । नगप्रमुख यादवले करिव ३ अर्ब रुपैया रामग्राम नगरपालिकालाई मात्र प्राप्त हुने बताउनुभयो । उहाँले परियोजनाका लागि श्रोत सुनिश्चित गर्न सम्बन्धित पक्षसँग सकारात्मक पहल र कार्यसम्पन्न गर्ने दृढ विश्वास व्यक्त गरेकोले परियोजनाले मूर्तरुप लिएको दाबी गर्नुभयो ।
नगरपालिकाहरूले परियोजनाले एकीकृत विकास, सांस्कृतिक सम्पदा संरक्षण, पर्यटन पूर्वाधार सुदृढीकरण तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् । (सामुदायिक रेडियो परासी )