परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका लुम्बिनी प्रदेशकै पहिलो पूर्ण संस्थागत प्रसुति सेवायुक्त र पूर्ण खोप सुनिश्चित भएको नगरपालिका घोषणा गरिएको छ । सरकारले निर्धारण गरेको “पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह तथा जिल्ला घोषणा एवं सुनिश्चितता मापदण्ड” पूरा गरेपछि रामग्रामलाई उक्त मान्यता प्रदान गरिएको हो ।
जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिका संयोजक प्रमुख भगौती यादव रुदलले सबै मापदण्ड पूरा गरेको आधारमा रामग्रामलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त सुनिश्चित पालिका घोषणा गर्नुभएको हो । रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको अध्यक्षता र समन्वय प्रमुख यादवको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।
घोषणाका लागि मापदण्ड अनुसार कम्तीमा ९० प्रतिशत गर्भवती महिलाले चार पटक गर्भ जाँच गरेको, ९५ प्रतिशत सुत्केरी दक्ष प्रसुतिकर्मीद्वारा स्वास्थ्य संस्थामै गराएको, घरमा हुने प्रसुति शून्य भएको तथा कम्तीमा ९० प्रतिशतले तीन पटक सुत्केरी पछिको जाँच गराएको सुनिश्चित भएपछि जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिले घोषणाको स्वीकृति प्रदान गर्ने व्यवस्था रहेको छ ।
नगरपालिकाका अनुसार रामग्राममा घरमै सुत्केरी हुने अवस्था अन्त्य भएको छ । चालु आर्थिक वर्षमा ८१६ जना सुत्केरी भएकोमा ८१४ जना स्वास्थ्य संस्थामै सुत्केरी भएका छन् भने दुई जना अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी भएको जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले बताउनु भयो ।
यसैबीच, रामग्राम पूर्ण खोप सुनिश्चित भएको पालिका पनि घोषणा भएको छ । घरधुरी सर्वेक्षणका क्रममा १६ देखि ५९ महिनासम्मका ३ हजार ४२६ बालबालिकामध्ये २३ जना खोपबाट वञ्चित रहेको भेटिएपछि स्वास्थ्यकर्मीले उनीहरूलाई पूर्ण खोप प्रदान गरेका थिए । जिल्ला स्तरबाट प्रमाणीकरण भएपछि घोषणा सम्भव भएको नगरपालिकाले जनाएको छ ।
घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अंगदबहादुर शाही, रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेय, पृथ्वी चन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश ढकाल, नेपाल रेडक्रस सोसाइटीका सभापति राजेन्द्र अग्रहरीले शुभकामना व्यक्त गर्दै रामग्रामले स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधारसँगै महत्वपूर्ण स्वास्थ्य उपलब्धि हासिल गरेको बताएका छन् ।
कार्यक्रममा स्वास्थ्य शाखाका अधिकृत अनिल खड्काले पूर्ण संस्थागत प्रसुति सेवायुक्त तथा १५ महिनासम्मका बालबालिकाहरुलाई पूर्ण खोप पालिकाका दिगोपन सुनिश्चिता घोषणा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । कार्यक्रममा घोषणा अभियानमा योगदान पु¥याउने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र सहयोगी संघसंस्थाका प्रतिनिधिहरूलाई नगरपालिकाले सम्मान गरेको छ ।