काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि कुनैपनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताउनु भएको छ ।
कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण निर्माण गर्नुको विकल्प नभएको बताउनुभयो । उहाँले अधिकार र कानुनको प्रयोगको नाममा कतै संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायपालिकाको सार्वभौम भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको त छैन? भन्ने गम्भीर प्रश्न उठेको बताउनुभयो ।
उहाँले न्यायपालिकालाई निष्पक्ष न्यायको केन्द्र बनाउनुको सट्टा स्वार्थ संरक्षणको माध्यम बनाउन खोजिएको संकेत समेत गर्नुभयो ।
‘न्यायको अन्तिम गन्तव्य बनाउनुको साटो आफ्नै स्वार्थहरुको संरक्षण गर्ने मुकुन्डो बनाउने प्रयासमा त लागिरहेको छैन् भन्ने पनि प्रश्न उठेको छ,’ उहाँले भन्नु भयो । कामु प्रधानन्यायधिश मल्लले आगामी दिनमा कुनैपनि बहाना बनाएर न्यायको स्वतन्त्रता कमजोर पार्ने, संवैधानिक मूल्यहरूमाथि धराप थाप्ने र कानुनी राज्यलाई कमजोर बनाउने दुष्प्रयास हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।
सम्बोधनका क्रममा उहाँले संविधानको नाम लिएर संविधानविरुद्ध काम गर्नु परिवर्तन वा क्रान्ति हुन नसक्ने बताउनुभयो । उहाँले विधिको शासनविरुद्ध हुने षड्यन्त्रविरुद्ध सबैले साहस, प्रतिबद्धता र आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
त्यस्तै, उनले संविधानलाई केवल राज्य सञ्चालनको कानुनी दस्तावेजका रूपमा नभइ नागरिकको जीवनपद्धतिको आधारका रूपमा स्थापित गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
संविधानबाट नै आम नागरिकले परिवर्तनको वास्तविक अनुभूति गर्नसक्ने उल्लेख गर्दै उहाँले राज्यका तीनै अंगले संवैधानिक मूल्य, मान्यता र समर्पण भावलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।