परासी । नेपाल नेत्रज्योति सङ्घ नवलपरासीद्वारा सञ्चालित डा. विनोद निता कण्डेल आँखा अस्पताल, परासीले आर्थिक वर्ष २०८२ |०८३ मा कुल ५५ हजार ३०५ जनालाई आँखा स्वास्थ्य सेवा प्रदान गरेको छ । नवलपरासी जिल्लाका सातवटै स्थानीय तहमा सहज पहुँच कायम गरेको अस्पतालले आफ्नै अस्पताल, आँखा उपचार केन्द्र तथा ग्रामीण क्षेत्रमा सञ्चालन गरिएका निःशुल्क आँखा शिविरमार्फत विशेषज्ञ आँखा सेवा उपलब्ध गराउँदै आएको छ ।
अस्पताल प्रशासनका अनुसार समीक्षा अवधिमा ३९ हजार १२३ जनाले अस्पतालको बहिरङ्ग (ओपिडी) सेवा तथा प्रत्यक्ष विशेषज्ञ परामर्श सेवा लिएका छन् । त्यसैगरी, आर्थिक वर्ष २०८२|०८३ मा जिल्लाका २७ वटा विद्यालयमा सञ्चालन गरिएको विद्यालय आँखा परीक्षण कार्यक्रममा ७ हजार ६०८ जना विद्यार्थी लाभान्वित भएका छन् ।
अस्पतालको प्राविधिक सहयोगमा जिल्लाका २१ वटा ग्रामीण क्षेत्रमा सञ्चालन गरिएका निःशुल्क आँखा शिविर (डायग्नोस्टिक स्क्रिनिङ तथा उपचार शिविर) मार्फत ५ हजार ४८ जना नागरिकले विशेषज्ञ आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन् ।
सेवा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालनमा रहेका ५ वटा आँखा उपचार केन्द्र (ईसीसी) मार्फत पनि ३ हजार ५२६ जना सेवाग्राहीले आँखा परीक्षण तथा उपचार सेवा लिएको अस्पतालले जनाएको छ । आँखा अस्पतालल २०८१।०८२ मा नियमित ओपिडि, विभिन्न उपकेन्द्र, र संचालित विभिन्न शिविरमा ५३ हजार ४२८ जनाको आँखा परिक्षण गरेको थियो ।
डा. विनोद निता कण्डेल आँखा अस्पतालले बिगत ३६ वर्षदेखि नवलपरासीमा विशेषज्ञ तथा गुणस्तरीय आँखा उपचार सेवा निरन्तर प्रदान गर्दै आएको छ । अस्पतालले मोतियाबिन्दु शल्यक्रिया, रेटिना तथा भिट्रियो–रेटिना सेवा, ग्लुकोमा उपचार, न्यून दृष्टि पुनःस्थापना सेवा, बाल आँखा सेवा, अप्टिकल सेवा, फार्मेसी तथा २४ सै घण्टा आकस्मिक आँखा उपचार सेवा सञ्चालन गर्दै आएको छ ।
अस्पतालले समुदायमै पुगेर ग्रामीण आँखा शिविर, जनचेतनामूलक कार्यक्रम तथा आँखा स्वास्थ्यसम्बन्धी सूचना प्रवाह गर्दै आएको छ । नवलपरासीका सातवटै स्थानीय तहले पनि प्रत्येक वर्ष अस्पतालसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएका छन् । अस्पताललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको समेत निरन्तर सहयोग प्राप्त हुँदै आएको छ ।
(सामुदायिक रेडियो परासी)