नवलपरासी जिल्लामा पछिल्ला दिनहरूमा डेंगु रोगको संक्रमण बढ्दो क्रम देखिएको छ । यसले सर्वसाधारण, स्थानीय सरकार, स्वास्थ्य संस्था तथा समुदाय सबैलाई सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याएको छ । डेंगु रोग समयमै पहिचान र उपचार गरिएमा नियन्त्रण गर्न सकिने भए पनि लापरवाही गर्दा यसले जटिल अवस्था सिर्जना गर्न सक्छ । त्यसैले प्रत्येक नागरिकले डेंगु रोगका लक्षण, बच्ने उपाय र समुदायस्तरमा अपनाउनुपर्ने सावधानीबारे जानकारी राख्नु अत्यन्त आवश्यक छ ।
डेंगु रोग एडिस जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल सरुवा रोग हो । विशेषगरी बिहान र साँझको समयमा सक्रिय रहने यो लामखुट्टे सफा र जमेको पानीमा प्रजनन गर्छ । घर वरपर रहेका टिन, खाली बट्टा, पुराना टायर, गमला, फूलदानी, पानी संकलन गर्ने भाँडा तथा अन्य वस्तुमा जमेको पानी यसको प्रमुख बासस्थान बन्ने भएकाले यस्ता स्थानको नियमित सरसफाइ अत्यन्त आवश्यक हुन्छ ।
डेंगु रोगका मुख्य लक्षणहरूमा एक्कासी उच्च ज्वरो आउनु, अत्यधिक टाउको दुख्नु, आँखाको पछाडिपट्टि दुखाइ हुनु, जोर्नी तथा मांसपेशीमा कडा पीडा हुनु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा रातो दाग वा बिबिरा देखिनु, शरीर चिलाउनु तथा गिजा, नाक वा मुखबाट रगत बग्नेजस्ता समस्या देखिन सक्छन् । यस्ता लक्षण देखिएमा आफैं औषधि सेवन नगरी नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गरी चिकित्सकको सल्लाहअनुसार उपचार गराउनु अत्यन्त आवश्यक हुन्छ ।
डेंगुबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै हो । त्यसका लागि पूरा बाहुला भएका कपडा लगाउने, झुलभित्र सुत्ने, झ्याल–ढोकामा जाली लगाउने तथा आवश्यक परे लामखुट्टे भगाउने औषधि वा रिपेलेन्ट प्रयोग गर्ने बानी बसाल्नुपर्छ । घरभित्र र वरपर सफाइ कायम राख्ने, पानी जम्ने कुनै पनि भाँडा, टिन, बट्टा, गमला, फूलदानी, टायर वा अन्य सामग्रीमा पानी जम्न नदिने तथा गमलाको प्लेट, फूलदानी र कुलरको पानी कम्तीमा हप्तामा दुई पटक परिवर्तन गर्ने अभ्यासले लामखुट्टेको प्रजनन रोक्न मद्दत गर्छ ।
यस्तै, घर वरपर रहेका खाल्डाखुल्डी पुर्ने, ढलको नियमित सफाइ गर्ने तथा धेरै पानी जम्ने पोखरी वा अन्य स्थानमा सम्बन्धित निकायको प्राविधिक सल्लाहअनुसार जलेको मोबिल वा मट्टितेल प्रयोग गरी लामखुट्टेको लार्भा नष्ट गर्ने कार्य पनि प्रभावकारी हुन्छ । यस्ता गतिविधि व्यक्तिगत प्रयासभन्दा सामूहिक रूपमा सञ्चालन गर्दा अझ बढी प्रभावकारी हुन्छन् ।
समुदाय स्तरमा सबै मिलेर डेंगु नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन गर्न सकिन्छ । पालिका स्तरमा टोल विकास संस्था, आमा समूह, युवा क्लब, विद्यालय तथा स्थानीय संघसंस्थाले नियमित सरसफाइ अभियान सञ्चालन गर्ने, प्रत्येक शनिबार वा निश्चित दिनलाई घर–घरमा जनचेतना फैलाउने तथा लामखुट्टेको प्रजनन हुने स्थान पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गर्न सकिन्छ । स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच समन्वय गरी जनचेतनामूलक कार्यक्रम, विद्यालय शिक्षा, रेडियो सन्देश तथा सामाजिक सञ्जालमार्फत सही सूचना प्रवाह गर्नु पनि उत्तिकै आवश्यक छ ।
डेंगु नियन्त्रण कुनै एक व्यक्तिको मात्र जिम्मेवारी होइन, हुँदैन पनि, यो सम्पूर्ण समुदायको साझा जिम्मेवारी र दायित्व हो । प्रत्येक घर, प्रत्येक परिवार र प्रत्येक नागरिक सचेत भई आफ्नै घर तथा वरपरको वातावरण सफा राख्न सके डेंगुको जोखिम घटाउन सकिन्छ ।
त्यसैले डेंगुका लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा जाने, समयमै उपचार गराउने र आफ्नो परिवार तथा समुदायलाई सुरक्षित राख्नु हामी सबैको साझा कर्तव्य हो ।
— देवीलाल पौडेल, बरिष्ठ मलेरिया इन्सपेक्टर, स्वास्थ्य कार्यालय नवलपरासी