प्रजनन् एक जैविक प्रक्रिया हो, आफ्नो बंशलाई निरन्तरता दिन नयाँ सन्तान उत्पादन गर्ने प्रकृया हो । महिला र पुरुषको प्रजनन प्रणाली त्यसमा खासगरी शारीरिक, मानसिक र सामाजिक पक्षहरु जोडिएका हुन्छन् ।
प्रजननसँग जोडिएका प्रमुख पक्षहरुमा महिला र पुरुषका प्रजनन अंगको विकास र कार्य, यौवनावस्था, महिलाहरुमा हुने मासिक धर्म, गर्भधारण र गर्भावस्था, परिवार नियोजन, यौन तथा प्रजननसम्बन्धी संक्रमण, गर्भधारणमा कठीनाई(बाँझोपन) र यौन तथा प्रजनन अधिकार (विवाह, यौन सम्बन्ध, सन्तान जन्माउने वा नजन्माउने विषयमा स्वतन्त्र) पर्दछन् ।
नेपालमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ अनुसार प्रजनन स्वास्थ्य भन्नाले प्रजनन पद्दती, प्रक्रिया र कार्यसँग सम्बन्धित शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यको स्थितिलाई व्याख्या गरेको छ । उमेर अनुसार शारीरिक विकास हुनु, प्रजनन अंगहरु स्वस्थ हुनु, प्रजनन कार्यकालागि सक्षम, बाँझोपन नहुनु र यौन रोग वा एचआइभि संक्रमित नहुनुलाई शारीरिक अवस्था भनेर बुझ्न सकिन्छ ।
त्यस्तै प्रजननसँग सम्बन्धित तनाव नहुनु, यौन चाहाना, यौन साथीसँगको समझदारी, डर, त्रासबाट मुक्त, आफ्नो शारीरिक परिवर्तनबारे जानकार र यौन शोषण र दुव्र्यवहारबाट मुक्त हुनुलाई मानसिक अवस्थाको रुपमा बुझ्नु पर्दछ ।
यसैगरी यौन शोषण र जातिय भेदभावबाट मुक्त, लैगिक समानाता, बैवाहिक मान्यता, निर्णय गर्ने अधिकार र रुढिवादी सोंचको अन्त्य भएको अवस्थालाई सामाजिक अवस्थाको रुपमा लिन सकिन्छ ।
यी तीन पक्ष शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य हुनु नै प्रजनन स्वास्थ्य अधिकार हो । प्रजनन अधिकारकै कुरा गर्दा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी शिक्षा, सूचना र परामर्श प्राप्त गर्नु, गर्भान्तर वा सन्तानको संख्या निर्धारण, गर्भपतन सेवा, गर्भवती तथा प्रसुती सेवा, पोषणयुक्त सन्तुलित आहार पाउने अधिकार र प्रत्येक व्यक्तिले प्राप्त गरेको प्रजनन सेवा र सूचना गोप्य रहने जस्ता कुराहरुलाई महत्वपूर्ण मानिन्छ ।
प्रजनन स्वास्थ्यको कुरा गर्दा बलपूर्वक गर्भपतन वा लिंग पहिचान गरी गर्भपतन गर्नु कानून अनुसार दण्डनीय मानिएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ७ मा कसुर र सजायको व्यवस्था पनि गरेको छ ।
अन्जली श्रेष्ठ, नेपाल परिवार नियोजन संघ, नवलपरासी
- शारीरिक विकासको क्रममा उपयुक्त सरसफाई र पोषणमा ध्यान पुर्याउने ।
- हर्मोन परिवर्तनका कारण मानसिक रुपमा परिवर्तन आउने हुँदा यस अवस्थामा आफ्नो बुवाले माया, ममताका साथ नरिसाइकन रामग्राम व्यवहार गर्ने ।
- प्रजनन स्वास्थ्य सम्बन्धी जानकारीकालागि किशोर किशोरीमैत्री संस्थामा पठाउने ।
- प्रजनन स्वास्थ्य समस्या परेमा खुलेर कुरा गर्ने र सेवाको लागि सम्बन्धित निकायमा जाने बातावरण वनाउने ।
- किशोर किशोरीहरुलाई यौन प्रजनन अधिकार प्रचलित मान्यता, कानूनबारे सुसुचित गराउने ।