लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयले नवलपरासी जिल्लाका विभिन्न खानेपानी आयोजनाको अनुगमन तथा मूल्याँकन गरेको छ ।
मन्त्रालयका सचिव बासुदेव पौडेल, खानेपानी र सरसफाई कार्यालय नवलपरासीका प्रमुख दिनेश प्रसाद शाह सहितको टोलिले जिल्लाका ४ वटा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको भौतिक निर्माण, कार्यालय सञ्चालन, संस्थागत सुशासन र खानेपानीको गुणस्तर सुधार लगायतका क्षेत्रमा अनुगमन गरेको हो ।
मन्त्रालयले बर्दघाट नगरपालिका स्थीत बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, जहदा, बेलहानी र सरावल गाउँपालिका वडा नं. १ स्थित बासा खानेपानी तथा उपभोक्ता संस्थाको स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा उपभोक्ता संस्थाहरुले भौतिक निर्माणको कार्य सकिएकाले अव सेवा सुधार गरी गुणस्तर खानेपानीको लक्ष्य लिएको बताएका छन् ।
खानेपानी र सरसफाई क्षेत्रका विज्ञ, उभोक्ता र अन्य सरोकारवालाहरुका लागि बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशकै नमूना संस्था बनेको बताइएको छ । सो क्रममा मन्त्रालयको टोलीले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कार्यसमिति, लेखासमिति, खानेपानी सुरक्षा योजना टोली र सरसफाइ उपसमितिका सदस्य र कर्मचारी सहित अन्तरक्रिया कार्यक्रम पनि गरेको छ ।
सो अवसरमा बोल्दै मन्त्रालयका सचिव पौडेलले बर्दघाट खानेपानी पहिलेदेखिनै नमुना संस्था भएको बताउनु भयो । संस्था सफल हुनुमा सम्बन्धित क्षेत्रका जनताको ठुलो योगदान रहेको उहाँको भनाई छ ।
यस्तै खानेपानी तथा सरसफाइ कार्यालय नवलपरासीका प्रमुख शाहले जिल्लामा खानेपानीको क्षेत्रमा प्रदेशबाट सघन तर्फ ४ करोड, गुणस्तर तर्फ ९० लाख, सर्शत तर्फ ९० लाख बजेट आएको जानकारी दिनुभयो ।
अनुगमनका क्रममा बर्दघाट खानेपानीका अध्यक्ष दीपक लम्साल, उपाध्यक्ष कमल थापा लगायतले खानेपानी र सरसफाईको क्षेत्रमा गरिएका सकारात्मक पहलका बारेमा जानकारी गराउनु भएको संस्थाबा व्यवस्थापक विष्णु भुषालले जानकारी दिनुभयो ।