परासी । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन मङ्गलबारदेखि देशभर क्यान्सर विरुद्धको खोप अभियान सुरु भएको छ। माघ २२ गतेदेखि फागुन ६ गतेसम्म अभियानको रुपमा खोप सञ्चालन गरिने भएको हो ।
देशभर कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० जना किशोरीहरुलाई खोप दिन लागिएको छ ।
मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीलाई खोप सामग्री प्रदान गरेर देशव्यापी अभियानको शुभारम्भ गर्नुभएको हो।
यता नवलपरासीमा पनि सातै पालिकामा खोप अभियान सुरु भएको छ। जिल्लाभर सञ्चालन हुने खोप अभियानको नेतृत्व स्वास्थ्य कार्यालय नवलपरासीले गरेको छ। जिल्लाभर १६ हजार २ सय ९३ जना किशोरी लाई खोप दिन लागिएको हो।
देशभर फाल्गुन ६ गतेसम्म खोप अभियान सञ्चालन गरिने भएपनि नवलपरासीमा भने माघको २८ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरव ढकालले बताउनुभएको छ।
जिल्लामा खोप अभियानका लागि २०५ जना खोप स्वास्थ्यकर्मी र ३०८ जना स्वयंसेवक खटिएका छन्।
जिल्लाका २०० विद्यालयमा २०१ वटा खोप केन्द्र निर्माण गरी एचपीभी खोप सुरुवात गरिएको स्वास्थ्य प्रमुख ढकालले बताउनुभयो।
पाठेघरको मुखको क्यान्सर विरुद्ध ०.५ एम एल खोप किशोरीहरूको बायाँ पाखुराको माथिल्लो भागमा लगाइन्छ। किशोरीहरूले खोप ढुक्क भएर लगाउने र खोपको कुनै साइड इफेक्ट नहुने स्वास्थ्य कार्यालय नवलपरासीका खोप अधिकृत भेषराज शर्माले नेपाली चेलीलाई बताउनु भयो ।
