परासी । इन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट नवलपरासीले जिल्लाका सात वटै पालिकाहरूमा प्रेरणा नामक परियोजना सञ्चालन गर्ने भएको छ । आगामी ४ बर्षका लागि परियोजना सञ्चालन गर्न लागिएको इन्द्रेणीले जनाएको हो ।
उष्ण प्रदेशीय रोगहरु ( डेंगु, कालाजार, फित्ते जुका, जुका, सर्पदंश, कुष्टरोग, हात्तिपाइले रोग, लुतो, रेविज र माइसितोमा) नियन्त्रणका लागि प्रेरणा परियोजना सञ्चालन गर्न लागिएको संस्थाले जनाएको हो ।
संस्थाले सञ्चालन गर्ने परियोजनाबारे जानकारी दिन आज सरावल गाउँपालिकामा अभिमुखिकरण गरिएको छ । संस्थाका कार्यवाहक अध्यक्ष विमलचन्द्र घिमिरेको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरीको प्रमुख आतिथ्यमा अभिमुखिकरण गरिएको हो । सो अवसरमा संस्थाका कार्यकारी निर्देशक पुष्पराज आचार्यले प्रेरणा परियोजनाका बारेमा प्रस्तुतिकरण गर्नु भएको छ ।

फेयर मेड (हेल्थ फर पुवरेष्ट) को सहकार्यमा सञ्चालन गरिने परियोजनाले पालिका भित्रका अति गरीव, कमजोर स्वास्थ्य र सरसफाई तथा अस्वस्थ वातावरण भएको लक्षित क्षेत्रमा आगामी ४ बर्षसम्म काम गर्ने बताइएको छ ।
यसअघि संस्थाले जिल्लामा आधारभूत स्वास्थ्य परियोजना सञ्चालन गरेको थियो भने प्रेरणा परियोजना त्यसको नयाँ रुप भएको संस्थाका प्राविधिक अफिसर बृजेशकुमार शर्माले जानकारी दिनु भयो ।

