काठमाण्डौं । १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागमती प्रदेशले हात पारेको छ । बागमतीले ३६ स्वर्ण, ७ रजत र ११ कांस्यसाथ ७ प्रदेशमा टिम च्याम्पियन बनेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा गत संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश यस पटक दोस्रो स्थानमा सीमित भएको छ । सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक हात पारेको हो । ११, १२ र १३ औं संस्करणको उपाधि विजेता लुम्बिनी प्रदेश भने तेस्रो स्थानमा सिमित भएको छ । लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ कांस्य पदक जित्यो । यसले लुम्बिनी प्रदेशको खेलकुद क्षेत्र ओरालो लाग्ने संकेत देखिन थालेको खेलकूद क्षेत्रका विश्लेषकहरू बताएका छन् । लामो समयसम्मको सफलता पछाडि यसपटकको कमजोर प्रदर्शनले सुधार र पुनःसंरचना दुबैको आवश्यकता औँल्याएको छ ।
गण्डकी प्रदेश ४ स्वर्ण, ११ रजत र १७ कांस्य साथ चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ६ रजत र १९ कांस्यसाथ पाँचौं भएको छ । मधेश प्रदेश ३ स्वर्ण, २ रजत र १० कांस्य पदककासाथ छैटौं स्थानमा छ भने सातौं स्थानमा रहेको स्वर्णविहीन कोशी प्रदेशले ७ रजत र ८ कांस्य पदक जितेको हो ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । तीनदिने प्रतियोगितामा ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।