परासी । नवलपरासीमा सोमबार प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव रुदलको अध्यक्षतामा बैठक बसेको हो । प्रसव फिस्टुला लामो र कठीन सुत्केरी ब्यथाका कारण पिसाव थैली वा पिसाब नली वा आन्द्रामा प्वाल पर्नुलाई बुझिन्छ । फिस्टुला भएपछि महिलाहरूको पिसाव नियन्त्रण नहुनु र लगातार पिसाव वा दिसा यौनीमार्गबाट बग्ने गर्दछ ।
नेपालमा प्रसव फिस्टुला उपचार आइ एन एफको सहयोगमा कर्णाली प्रदेश अस्पताल, फिस्टुला उपचार केन्द्रमा मात्र हुने गरेको छ । प्रसव फिस्टुलाको उपचार शल्यक्रियाबाट हुन्छ । शल्यक्रिया निःशुल्क हुने गरेको आइएनएफका ललित बहादुर सारुले जानकारी दिनुभयो ।
.jpg)
उहाँले फिस्टुलाबाट बच्नका लागि बालबालिकालाई सन्तुलित आहारमा ध्यान दिने, २० बर्ष उमेर पूरा भएपछि मात्र विवाह गर्ने, गर्ववति अवस्थामा न्यूनतम ८ पटक गर्व परिक्षण गर्ने, तालिम प्राप्त स्वास्थ्यकर्मीबाट स्वास्थ्य संस्थामा गई सुत्केरी गराउने गर्नु बताउनु भयो ।
सोमबार सम्पन्न बैठकमा कर्णाली प्रदेशका १० जिल्ला, सुदरपश्चिम प्रदेशका ९ जिल्ला र लुम्बिनी प्रदेशका १२ वटै जिल्ला सहित ३१ वटा जिल्लामा कार्यक्रम लागू गरिएको बताइएको छ । गत बर्ष २०८१।०८२ को तथ्याङ्क हेर्दा तीन वटै प्रदेशबाट ८ हजार ४४८ जनाको स्क्रिनिङ्ग गर्दा ७१ जनाको प्रसव फिस्टुलाको शल्यक्रिया गरिएकोमा ५ जना महिलाहरु पश्चिम नवलपरासीका पनि रहेको कार्यक्रममा जानकारी गराइएको हो ।
कार्यक्रममा आइएमएफका कान्तप्रसाद सुवेदी, स्वास्थ्य कार्यालय नवलपरासीकी पब्लिक हेल्थ नर्सिङ्ग अधिकृत कल्पना पौडेलले सहजिकरण गर्नु भएको थियो ।
आइएनएफले नवलपरासी जिल्लाका ७ वटै पालिकामा कार्यक्रम लागू गरी २ जना कर्मचारी पनि खटाएको छ । उसले महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्य आमा समूह, अस्पताल लगायतको सरसहयोगमा प्रसव फिस्टुलाको खोजपडताल, निःशुल्क उपचार र फिस्टुला प्रतिको धारणा परिवर्तन गर्ने लक्ष्य लिएको छ । आगामी डेढ बर्षसम्म जिल्लामा कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।