रामग्राम नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ मा पालिका र वडा स्तर तथा विषयगत शाखा अनुसारको प्रगति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । रामग्राम नगरपालिकाले स्वास्थ्य, शिक्षा र धार्मिक पर्यटनको क्षेत्रमा निरन्तर कार्य गरिरहेको जनाएको हो । नगरपालिकाले प्रदेश र संघीय सरकारसँग समेत बजेट माग गरेर जनताका माग सम्बोधन गर्दै आएको छ ।
नगरपालिकाले गत आर्थिक बर्ष २०८१।०८२ मा स्वास्थ्य क्षेत्र तर्फ ८४.५४ प्रतिशत प्रगति हासिल गरेको छ । स्वास्थ्य शाखा मार्फत कुल ८ करोड ५ लाख २४ हजार बजेट विनियोजन भएकोमा कुल ६ करोड ८० लाख ७८ हजार बजेट खर्च गरेको छ ।
नगरपालिकाले स्वाथ्य क्षेत्रमा भौतिक निर्माण सहित ग्रामीण स्तरमा स्वास्थ्य सेवालाई पहुँच योग्य बनाउन निरन्तर लागि परेको जनाएको छ । स्वास्थ्य सचेतनाका अभियान संचालनदेखि सर्ने र नसर्ने रोगबारे सचेतना फैलाउदै आइरहेको छ ।
नगरपालिकाले लुम्बिनी प्रदेशकाे पनि सहभागीतामा ७५ लाखको लगानीमा रामग्राम १७ अन्तर्गत देवगाउँ स्वास्थ्य चौकीमा नयाँ भवन निर्माण सम्पन्न गरेको छ भने वडा नम्बर ७ र १६ अन्तर्गत रहेको हकुई स्वास्थ्य चौकीमा नयाँ भवनबाट स्वास्थ्य सेवा शुभारम्भ गरेको छ ।
नगरपालिकाले गत आर्थिक बर्षमा हकुई स्वास्थ्य चौकी, रामग्राम १६, उनबछ स्वास्थ्य चौकी र रामग्राम ७ लाई किशोर–किशोरी मैत्री घोषणा गरिएको जनाएको हो । आ.व. २०८१।०८२ मा पालिकालाई नेपालको पहिलो पूर्ण संस्थागत सुत्केरी युक्त पालिका घोषणा गरिएको छ । यस्तै ग्रामिण क्षेत्रका ८ स्थानमा साप्ताहिक निःशुल्क अल्ट्रासाउण्ड सेवा प्रदान गरी हालसम्म १ हजार ५७७ महिलालाई सेवा प्रदान गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक सुरज हरिजनले जानकारी दिनुभयो ।
नगरपालिकाले कुष्ठरोग प्रभावितहरूलाई जीविकोपार्जनमा सहयोग, ल्याब सेन्टरहरूमा निःशुल्क परीक्षण, विपन्न नागरिकलाई निःशुल्क आँखाको शल्यक्रिया सेवा प्रदान गरेको जनाएको छ । गत आर्थिक बर्षमा नगरभित्रका १ सय ५० जना नागरिकलाई मोतियाविन्दुको शल्यक्रियामा सहयोग गरिएको नगरपालिकाले जनाएको हो ।
गर्भवती र सुत्केरी महिलालाई ६ महिनासम्म पोषण झोला वितरण, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई निःशुल्क स्वास्थ्य बिमा लगायतका कार्य गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको हो ।