श्याम थापा, सुस्ता । ६ देखि ५९ महिनाका बालबालिकाहरूको पोषण अवस्था लेखाजोखा नवलपरासीको सुस्ता गाउँपालिकाबाट शुभारम्भ गरिएको छ ।
गाउँपालिकाको आयोजनामा, बेस नेपाल परासी र हेलन केलर इन्टरनेशनलको प्राबिधिक सहयोगमा सुस्ता गाउँपालिकाको वडा न २ बाट बालबालिकाहरूको पोषण अवस्था लेखाजोखा गरि शुभारम्भ गरिएको हो ।
गत बर्ष नवलपरासी जिल्लामा १ हजार ४ सय ६५ जना बालबालिकाहरूलाई मध्यम खालको कुपोषण अर्थात माम केश र २ सय ५ जना बालबालिकाहरूलाई कडा खालको कुपोषण अर्थात साम केश फेला परेको पोषण मार्फत जिवन रुपान्तरण परियोजना बेस नेपालका परियोजना संयोजक शालिकराम पोख्रेलले बताउनु भयो ।
परियोजना संयोजक पोख्रेलका अनुसार सुस्ता गाउँपालिकामा १ सय ९३ जना बालबालिकाहरूलाई मध्यम खालको कुपोषण अर्थात माम केश र ३५ जना बालबालिकालाई कडा खालको कुपोषण अर्थात साम केश देखापरेको परियोजनाका संयोजक पोख्र्रेलले जानकारी दिनु भयो । पोषण मार्फत जिवन रुपान्तरण परियोजनाले नवलपरासीका ७ वटा स्थानीय तहको ७४ वटा वडामा ६ देखि ५९ महिनाका बालबालिकाहरूको पोषण सुधारको क्षेत्रमा काम गरिरहेको छ ।
नवलपरासीको प्रतापपुर गाउँपालिकामा २ सय २ जना बालबालिकालाई मध्यम खालको कुपोषण र २१ जना बालबालिकालाई कडा खालको कुपोषण देखा परेको छ । सरावल गाउँपालिकामा १ सय ९७ जना बालबालिकालाई मध्यम खालको कुपोषण र २२ जना बालबालिकालाई कडा खालको कुपोषण देखा परेको बताइएको छ । यस्तै पाल्हिनन्दन गाउँपालिकामा २ सय ५४ जना बालबालिकालाई मध्यम खालको कुपोषण र ४५ जना बालबालिकालाई कडा खालको कुपोषण, सुनवल नगरपालिकामा १ सय ५६ जना बालबालिकालाई मध्यम खालको कुपोषण र १० जना बालबालिकालाई कडा खालको कुपोषण देखा परेको छ । यस्तै रामग्राम नगरपालिकामा २ सय ३९ जना बालबालिकालाई मध्यम खालको कुपोषण र ३४ जना बालबालिकालाई कडा खालको कुपोषण र बर्दघाट नगरपालिकामा २ सय २४ जना बालबालिकालाई मध्यम खालको कुपोषण र ३८ जना बालबालिकालाई कडा खालको कुपोषण देखा परेको छ ।
हेलन केलर इन्टरनेशनलका परियोजना संयोजक भिमा पराजुलीका अनुसार लुम्बिनी प्रदेशमा १६.२ प्रतिशत ख्याउटेपन बालबालिकाहरु देखा परेका छन् । कार्यक्रममा सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले गाउँपालिकालाई कुपोषण मुक्त पालिका अर्थात पोषण मैत्री पालिका बनाउन आफु प्रतिवद्ध रहेको बताउनु भएको छ ।