नवलपरासी सहित देशभर बडा दशैं २०८२ को रौनक बढेर गएको छ । गाउँघर टोलछिमेकमा टाढा स्वदेश र पारी बिदेशमा भएका आफन्तजनहरूको आगमनसँगै दशैको खुसियाली र रौनक बढेर गएको हो । नेपाली समाजमा साँस्कृतिक एकताको प्रतिकको रुपमा रहेको बडा दशै असत्यमाथि सत्यको जीत भएको क्षणको रुपमा पनि लिने गरिन्छ । दुर्गा भवानी अर्थात शक्तिको प्रतिक दुर्गालाई नवरात्रि भर पुजाआराधना गर्ने प्रचलन छ ।
यस बर्षको बडा दशैं असोज ६ गते घटस्थापना अर्थात शैलपुत्रीको पुजा आराधना गरी शुरु गरिएको हो । दोश्रो दिन ब्रम्हचारिणी, तेश्रो दिन चन्द्रघण्टा, चौथोदिन कष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौ दिन कात्यायनी, सातौ दिन कालरात्रि, आठौ दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरी मनाउने प्रचलन छ । यसरी नवरात्र भर नवदुर्गाको पूजा आराधना विधिपूर्वक गर्ने परम्परा रहिआएको छ, जसले शक्ति, भक्ति, करुणा र सफलता वा विजयको सन्देश दिएको छ ।
नवलपरासी लगायत देशभर नवरात्रिको पुजापाठका लागि माटोको मुर्ति बनाएर पूजाआराधान गर्ने गरिन्छ । पछिल्लो समय गाउँ,ँ टोल र बस्तीहरूमा माटोबाट निर्मित भवानी दुर्गाको मुर्ति स्थापना गरी नौ दिनसम्म पूजा आराधना गर्ने र एघारौ दिनको दिन नजिकको नदि वा तलावमा भव्य मेलाको आयोजना गरी मूर्ति बिसर्जन गर्ने गरिन्छ ।
बडा दशैंले धार्मिक, सामाजिक र साँस्कृतिक महत्व बोकेको छ । धार्मिक महत्वको हिसावले हेर्दा दशैंलाई देवी दुर्गा भवानीले महिषासुर नामक दैत्यलाई पराजित गरेको दिनको स्मरण गरिन्छ ।
यस्तै सामाजिक महत्वको हिसावले परिवार, आफन्त र नातेदारसँगको सुमधुर मिलन, विधिपूर्वक राखिएका टिका, जमरा र मान्यजनको आशीर्वाद लिने प्रचलन पनि छ । परिवारमा एकता, सद्भाव र माया साटासाट गर्ने गरिन्छ भने दशैंको अवसरमा शहरबजार र परदेशमा रहेका आफन्तजनहरू घर फर्किने र घरपरिवारमा रमाउने सुनौलो मौका पनि मिल्दछ ।
बडा दशैंलाई राष्ट्रिय एकताको पर्वको रुपमा पनि मनाइन्छ । गाँउघरमा नाचगान, साँस्कृतिक कार्यक्रम र पिंङ खेल्ने गरिन्छ । समाजका विभिन्न संघसंगठनहरूले एकआपसमा शुभकामना साटासाट गर्ने प्रचलन पनि बढेको छ ।
दशैंकै बेला कृषि पेशाकर्मीहरूलाई भने भ्याइनभ्याई हुन्छ । खेतवारीमा अहिले धानपाक्ने बेला पनि भएको छ । नयाँ अन्न भित्र्याउने, फलफूल र पशुपक्षीको बलि चढाएर समृद्धि र धनधान्यको कामना गर्ने परम्परा पनि छ ।