नवलपरासी । तिहार सकिएसँगै नवलपरासी सहित तराईका जिल्लाहरूमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको तयारी सुरु भएको छ। पोखरी र नदीको सरसफाई गरी छठ मनाउने सामग्रीको तयारी गरिँदैछ। बजारमा पूजा सामग्री, फलफूल, अदुवा, मुला, माटोका भाँडा, कपडा आदि किनमेल पनि बढेको छ। छठी मातालाई अर्पण गरिने अन्य प्रसादहरुमा पानीसहितको काँचो नरिवल, उखु, हरियो बोडी, पानी सिङगडा, भोगटे, मुला, बोटसहितको अदुवा, स्याउ, केरा, सुन्तला, सिजनका फलफूल र तरकारीहरू हुन् ।
कुनैबेला छठ पर्व मान्ने समुदाय निकै कम हुने गरेको भएपनि अहिले आएर छठ पर्व सबैको आस्था, विश्वास, श्रद्धा र निष्ठाको पर्व भएको छ।
छठ पर्व कात्तिक शुक्ल चौथीबाट सुरु हुने धार्मिक व्रत हो। छठलाई चार दिन विभिन्न क्रियाकलापका साथ मनाउने गरिन्छ ।
पहिलो दिनलाई (नहाए खाए): व्रतालुहरू नुहाईधुवाई गरी सात्विक भोजन ग्रहण गर्छन्।
दोस्रो दिन (खरना): साँझ खीर र रोटीको प्रसाद तयार गरी पूजा गरी ३६ घण्टे उपवास सुरु हुन्छ।
तेस्रो दिन (षष्ठी – मुख्य दिन): व्रतालुहरूले सूर्यास्तको बेला जलाशयमा डुबेर सूर्य र छठी मातालाई अर्घ दिन्छन्।
चौथो दिन (सप्तमी – पारणा): सूर्योदयको बेला पुनः अर्घ दिएर व्रत समापन गरिन्छ । यस पर्वमा सूर्य भगवान र छठी माताको आराधना गरी परिवारको स्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गरिन्छ।