परासी । आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइएको छ । कार्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउने प्रचलन छ।
नवलपरासी जिल्लाका विभिन्न स्थानहरूका नदी, तलाउ र पोखरीहरूमा छठघाट निर्माण गरी लाखौं भक्तजनहरूले सामूहिक रुपमा छठ पर्व मनाएका छन्। जिल्लाका सातवटै पालिकामा रहेका नदी, तलाउ र पोखरीहरूलाई सजाएर झकीझकाउ बनाई सूर्यलाई अर्घ दिने प्रचलन छ।
यसैबीच जिल्लाको सदरमुकाम परासीस्थित झरही खोला किनारमा रहेको छठ घाटमा भव्य मेलाको आयोजना गरी मनाइएको छ । रामग्राम नगरपालिका वडा नम्बर २ र १२ मा पर्ने झरही खोलाको किनारमा हजारौं भक्तजनहरूले एकै साथ अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाएका छन्।
दुर्गा पूजा विराट मेला एवं छठ पूजा व्यवस्थापन समितिले व्यवस्थापन गरेको मेलाको समुद्घाटन रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले एक कार्यक्रमका बीच गर्नुभएको छ। नगर प्रमुख यादवले नगरभित्रका दर्जनौं छठ घाटहरूको व्यवस्थापन र कला संस्कृतिको जगेर्ना गर्न समुदायसँग नगरपालिकाले सधैं सहकार्य गर्ने बताउनुभएको छ। उहाँले झरही खोलामा अस्थायी रूपमा गरिएको तटबन्धलाई सङ्घीय सरकारको सहयोगमा स्थायी रूपमा निर्माण गर्ने तयारी भएको बताउनुभयो।
कार्यक्रममा विभिन्न राजनीतिक दल र सङ्घसंस्थाहरूले छठ पर्वको शुभकामना व्यक्त गरेका छन्। समितिका अध्यक्ष बिजुली हरिजनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य वीरेन्द्र यादव, नेपाली काङ्ग्रेस जिल्ला सदस्य गजानन्द पटेल, लोसपाका केन्द्रीय सह महासचिव पुरन चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि पाण्डे, भ्रष्टाचार विरुद्धको नागरिक निगरानी समूहका जिल्ला अध्यक्ष रामजी ज्ञवाली, मेला व्यवस्थापन समितिका सल्लाहकार विजयकुमार अग्रहरी, रमेश यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको समितिका कोषाध्यक्ष कन्हैया राजभरले जानकारी दिनुभयो ।