
मीना केसी, सुनवल ।
क्षत्री समाज नेपाल जिल्ला कार्य समिति, नवलपरासीको आयोजनामा सुनवलमा एक दिने निःशुल्क आँखा जाँच तथा उपचार शिविर सम्पन्न भएको छ ।
“राष्ट्रिय अखण्डता र जातीय सद्भावको निम्ति क्षेत्रीय एकता आजको आवश्यकता” भन्ने मूल नारासहित आयोजित शिविर नेपाल राममन्दिर संरक्षण समिति सभाहल, सुनवल–५ बनकट्टीमा सञ्चालन गरिएको हो ।
जिल्ला कार्य समिति अध्यक्ष मनोजकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुनवल नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नेत्रलाल शर्मा तिवारीले उद्घाटन गर्नुभएको थियो ।
शिविरबाट ३३८ जना बिरामीले आँखा परीक्षण तथा उपचार सेवा लिएका आयोजकले जनाएको छ । परीक्षणका क्रममा ३६ जना मोतिबिन्दुका बिरामी पहिचान भएका छन् । ती बिरामीको बुटवल लायन्स आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने तथा आवतजावतको सम्पूर्ण व्यवस्था समेत मिलाइएको जनाइएको छ ।
क्षत्री समाज नेपाल जिल्ला कार्य समिति, नवलपरासी तथा बुटवल लायन्स आँखा अस्पतालको संयुक्त आयोजनामा सम्पन्न शिविरले स्थानीय नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सहयोग पुगेको सहभागीहरूले बताएका छन् ।
कार्यक्रममा बुटवल लायन्स आँखा अस्पतालका अध्यक्ष महेशप्रसाद श्रेष्ठ, कार्यक्रम संयोजक मनोहर न्यौपाने, कार्यक्रमका प्रवक्ता मोहन कार्की सचिव यमबहादुर खत्री लगायतको उपस्थिति रहेको थियो ।
शिविरमा आवश्यक औषधि तथा चश्मा निःशुल्क तथा सहुलियत दरमा उपलब्ध गराईको नेत्र सहायक अनुषा ज्ञवालीले नेपाली चेली अनलाईनलाई जानकारी दिनुभयो ।