सुनवल । सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालले पालिकालाई शून्य फोहर अभियानको घोषणा गर्दै नगरवासीलाई शुद्ध र निःशुल्क पानी वितरण आफ्नो लक्ष्य रहेको बताउनुभएको छ। आफू निर्वाचित भएर आएदेखि नै खानेपानी र सरसफाईका क्षेत्रमा नगरपालिकाले ठूलो लगानी गरेको उहाँले बताउनु भयो ।
सामुदायिक रेडियो परासी ९० दशमलव २ मेगाहर्ज र अधेरी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको संयुक्त आयोजनामा शनिबार सुनवल ११ भडरीमा सम्पन्न जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख अर्यालले यस्तो बताउनुभएको हो ।
फरक प्रसङ्गमा नगर प्रमुख अर्यालले महिलाको नेतृत्व सफल भएको देख्न नचाहने तत्वहरूले राम्रो काम गर्दा पनि सधैं विरोध मात्रै गर्ने गरेको बताउनुभयो । "नबिराउनु नडराउनु भनेजस्तै जनताको पक्षमा काम गरेर देखाउने आफ्नो अठोट कसैको विरोधले कमजोर नहुने उहाँको भनाइ रहेको छ । "
उपभोक्ता समितिका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता र सुनवल नगरपालिकाकी नगर प्रमुख अर्यालको प्रमुख आतिथ्यमा आजै "शून्य फोहोर अभियान" को शुभारम्भ पनि गरिएको छ ।
सो अवसरमा खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष थानप्रसाद गैरे, साना सहरी खानेपानी तथा सरसफाई केन्द्रीय महासङ्घका सदस्य दीपक लम्साल, खानेपानी जिल्ला महासङ्घका अध्यक्ष देवीदत्त सापकोटा, खानेपानी सरसफाई कार्यालयका युद्ध बहादुर गुप्ता, सामुदायिक रेडियो परासी ९० दशमलव २ मेगाहर्जका प्रबन्ध निर्देशक मेघराज गौतम लगायतले बोल्दै अब आउँदा दिनहरूमा खानेपानी उपभोक्ता संस्थाले सरसफाईलाई पनि प्राथमिकता दिन आवश्यक रहेको बताएका छन्। उनीहरूले प्लास्टिक जन्य फोहरको न्यूनीकरणमा जोड दिनुपर्ने बताएका हुन्।
जिल्लाको खुल्ला दिशा मुक्त क्षेत्र घोषणामा जसरी उपभोक्ता समितिले काम गरेका थिए त्यसैगरी अब जिल्लालाई सरसफाई युक्त जिल्ला घोषणा गर्न खानेपानी उपभोक्ता संस्थाहरुले अगुवाई गर्नुपर्ने कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासीका स्वास्थ्य प्राविधिक जान मोहम्मद पठान, वातावरण विज्ञ सुदीप पौडेलले खानेपानी शुद्ध गर्ने विधि र खानेपानी र सरसफाईको महत्त्वका विषयमा प्रकाश पार्नुभएको सामुदायिक रेडियो परासीका स्टेसन म्यानेजर विकास अधिकारीले जानकारी दिनुभयो ।
गएको जेष्ठ २२ गतेदेखि सामुदायिक रेडियो परासीले जिल्लाका विभिन्न संघ संस्था र कार्यालयहरूको समन्वय र सहकार्यमा २६ औ राष्ट्रिय सरसफाई सप्ताह अन्तर्गत विभिन्न क्षेत्र र विषयमा रचनात्मक कार्यक्रम गर्दै आइरहेको छ। रेडियोले आगामी २८ गतेसम्म राष्ट्रिय सरसफाई सप्ताह मनाउने र असार १५ गते वार्षिक बुलेटिन प्रकाशन गर्ने सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मीले बताउनुभयो ।