‘फूल’ भन्ने बित्तिकै भगवानलाई चढाउने, सुगन्धले भरिपूर्ण, प्राकृतिक र मूल्यवान बस्तुको रुपमा लिने गरिन्छ । पछिल्लो समयमा व्यक्तिहरूले आकर्षक गमला र घर आगनमा फूलका बिरुवा रोप्ने प्रचलन ब्यापक बन्दै गइरहेको छ । यस्तै सरकारी तथा गैर सरकारी संघसंस्था, बिद्यालयलाई हरियाली र रमणीय बनाउन फूलका बिरुवा रोप्ने गरिएको छ भने स्थानीय नर्सरीहरूको ब्यवसाय पनि बढ्दै गईरहेको छ ।
ब्यवसायीक रुपमा सञ्चालन गरिएका नर्सरीहरूले आफ्नो नर्सरी उद्योग बढाइरहेका बेला ६५ बर्षिय एक बृद्ध महिलाले परासी आसपासका घरघरमा, पसलपसल, व्यक्ति, संघसंस्था, उद्योग कलकारखाना, यातायात ब्यवसाय वा भनौ शहरबजार र दैलोदैलोमा फूल पुर्याएर आफ्नो जीविकोपार्जन गर्दै आउनु भएको छ । हेर्दा फूर्तिलो देखिने पाल्हीनन्दन गाउँपालिका वडा नं. ४ पाल्ही घर भएकी फूल ब्यवसायी सोना मालीले फूलको ब्यवसाय गर्न थालेको बर्षौ भयो । “परिवारको भविश्यलाई फूलको ब्यवसायसँग जोडेर काम गर्न थालेको ५० बर्ष भयो,” सोनाले भन्नुभयो ।
सोनाका श्रीमान् (तिरथ माली) २० बर्ष पहिले दमको रोगका कारण बित्नु भयो । श्रीमानकाे मृत्यू पछि परिवारको सम्पूर्ण जिम्मेवारी सोनाको काधमा आइलाग्यो । सोनाको अहिले एक छोरा, बुहारी(पतोही), २ नातिनी र १ नातीको परिवार रहेको छ । श्रीमान् (तिरथ)ले फूल ब्यवसाय गर्दा आफूले पनि श्रीमानसँगै फूल ब्यवसायको काम गरेको अनुभवका कारण फूल ब्यवसायलाई निरन्तरता दिएको सोनाले बताउनु भयो ।
“२ कठ्ठा जग्गा श्रीमान्कै नाममा छ, फूल खेति गरेकी छु, जीवन जेनतेन चलेकै छ” सोनाले आफ्नो अनुभव सुनाउँदै भन्नु भयो । सोनाले आफ्नो पतोही (बुहारी)ले फूल खेतिमा आफूलाई सघाउने गरेको बताउनु भयो । उहाँले प्रत्येक दिन परासी, बेलासपुर, पोखरापाली, मंझरीया, नदवा र कसियासम्म फूल पुर्याउने गर्नु हुन्छ । उहाँले दैनिक २ हजार स्थानमा फूल पुर्याउँने गर्नु भएको छ । सोनालाई कसैले प्रत्येक दिन त कसैले साप्ताहिक रुपमा फूलको पैसा दिने गरेका छन् । “कति पैसा हुन्छ भनेर हिसाब नरोखे पनि दैनिक खर्च चलेको छ, महिनामा करिव १५ हजार जति फूल बेचेर पैसा कमाएकी छु,” सोनाले भन्नु भयो ।
एकाबिहानै फूलले भरिएको झोला बोकेर सोना प्रत्येक दिन हिंडेरै उक्त स्थानहरूमा पुग्ने गर्नु भएको छ । परिवारको जिम्मेवारी बोकेका कारण उहाँले आफ्नो शारिरीक अवस्था पनि बिर्सिएर दैनिक कडा मिहिनेत गर्दै आउनु भएको छ । बिभिन्न रङ, सुगन्ध र प्रकारका फूल एउटा बोराको झोलामा बोकेर प्रत्येक दिन ब्यक्तिका दैलाेदैलाे, पसल र ब्यवसायमा पुर्याउनु सोनाको दैनिकी जस्तै हो ।
अघिल्लो महिना सोनाले आफ्नो छोरा घनश्याम मालीलाई बैदेशिक रोजगारमा पठाउनु भयो । आँखाभरी आँसु पार्दै ३ लाख ५० हजार ऋणधन गरी छोरा घनश्यामलाई मेलेसिया पठाएको उहाँ बताउनु हुन्छ । “अब आस र भरोसा त्यही धनश्याम माथि छ, ऋण तिर्ने र ५ बर्षअघि वाढीले भत्काएको सानो झुपडी बनाउने” सोनाले भन्नुभयो ।
गरीवको कुरा कसले सुन्छ र भन्दै सोनाले पाल्हीनन्दन गाउँपालिका वडा नं. ४ का अध्यक्षलाई इंकीत गर्दै खानेपानीको पाइप मागेकी थिए प्रधान (अध्यक्ष) ले दिएनन् भन्दै दुखेसो गर्नुभयो । उहाँले कसैले सहयोग नगरेपछि १० हजार खर्च गरेर हेण्डपाईप खानेपानीका लागि गाडेको बताउनु भयो ।